काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको पर्दा घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ ।
गोताखोरको टोलीले हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालेको छ । घटनास्थल नजिकै करिब १० वर्षको बच्चाको ट्रयाकसुट पनि भेटिएको हो ।
उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन् । १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।