काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो ।
अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने जनाइएको छ । घटनास्थलबाट ३, ४ किलोमिटर वरपरसम्म खोज्दा पनि नभेटिएको जनाइएको छ । नदीमा पानीको बहाव नघटेको र रातिको समयमा जोखिम हुने भएका भोलि विहान मात्रै खोजने जनाइएको छ ।
त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको थियो ।
गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।
दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।