काठमाडौं । उच्च जोखिमको सुचना ‘ रेड एडभाइजरी’ जारी भएका दिन तोकिएका जिल्लाहरुमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विषद् तथा द्वन्द्व महाशाखामा बसेको बैठकले सो निर्णय गरेको हो ।
जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरुमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ।
यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन। यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो।
त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ। पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ।
त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय गरिएको जनाइएको छ ।
सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ।
कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको जनाइएको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज विहान करिब ३ बजे काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।
अहिलेसम्म दुवै बसमा रहेको यात्रुको अवस्था भने अज्ञात रहेको छ । बसमा भएका मध्ये तीन जना पौडिएर वाहिर निस्किएका छन् । वीरगन्जबाट काठमाडौतर्फ आइरहेको बसमा ७ जना भारतीय नागरिक रहेका छन् ।