साउनदेखि लागु हुनेगरी स्वास्थ्य बीमाको 'सुविधा थैली' परिमार्जन

साउनदेखि लागु हुनेगरी स्वास्थ्य बीमाको 'सुविधा थैली' परिमार्जन

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • साउनदेखि लागु हुनेगरी स्वास्थ्य बीमाको 'सुविधा थैली' परिमार्जन

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । 

    बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए। उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । 

    उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधि रहेका छन् । 

    अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन २ सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको २ सय रुपैयाँ थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि ३ हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । 

    यस्तै थप प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ ।

    बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४ सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij