काठमाडौं । तीन दिन अघि खोलाले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन् । गलकोट नगरपालिका वडा नं ४ नुवाकोटका ४२ वर्षीय प्रमानन्द सुवेदीको गलकोट नगरपालिका ११ को मनेवा नजिक शव भेटिएको हो ।
उनलाई सोमबार गलकोट नगरपालिका वडा नं २ को नरेठाँटीबाट गौंदीखोलाले बगाएको थियो । मानिस बगेको देखेपछि स्थानीयले तत्काल खोजी थालेका थिए ।
प्रहरी चौकी खरवाङको खोजी टोलीले बुधवार दिउसो साँढे ३ बजे सुवेदीको शव फेला पारेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएकाे छ । गौदीखोलाले बगाएर सुवेदीको शव दरमखोलामा पुर्याएको थयो । गलकोट नगरपालिका वडा नं. ११ को मनेवा नजिकै उनको शव भेटिएको हो ।
सोमबार दिउसो सुवेदी घरबाट निस्केका थिए । कसैलाई नभनी निस्केकोले घरपरिवारले पनि पत्तो पाएका थिएनन् । खोलामा अपरिचित व्यक्तिको शव बगेको देखेपनि कसको भन्ने थाहा नहुँदा खोजीकार्य ढीला भएको थियो ।
मंगलवार पनि घर नफर्केपछि सुवेदी परिवार आत्तिएका थिए । उक्त शवलाई प्रहरीले पोष्टमार्टम पछि परिवारलाई बुझाउने प्रहरीले जनाएकाे छ । घटना बारे प्रहरीले थप अनुसन्धान समेत थालेको छ ।