कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट ल्याएको थियो ।
प्रदेश सरकारद्वारा चालु आर्थिक बर्षका लागि विनियोजित कूल बजेटमा २० अर्ब १५ करोड ३९ लाख ७३ हजार १ सय ६२ रुपैयाँ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए। जसमा चालुतर्फ ९ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८ दशमलव ३६) र पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार ३ सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उनले बताए ।
“गत आर्थिक बर्ष ०७९/८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उनले भने, “चालु आर्थिक बर्षमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आर्थिक बर्षमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।
चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा १५ लाख रुपैयाँ मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए ।