काठमाडौं । विराटनगरमा सोमबार राति भएको युवक हत्याकाण्डमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार युवतीको विषयमा भएको दोहरो झडपका क्रममा विराटनगर–२ मा राति करिब १० बजे कटहरी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको थियो।
घटनामा परी कटहरी–१ जम्टोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा फेला परेको मोबाइलको सहायतामा चार जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे छ । घटनामा संलग्न विराटनगर–११ का सोनु गिरी, ताप्लेजुङको दोखुका १८ वर्षीय निमदावा शेर्पा, भोजपुर भुल्केका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेलीका १६ वर्षीय एक बालक पनि पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
गिरीको घर विराटनगर–११ भए पनि विराटनगर–२ स्थित विराट नर्सिङ नजिक एक घरमा भाडामा बस्दै आएका छन्। त्यसैगरि, अन्य तीन जना पनि सो क्षेत्रमा बसोबास गर्दै आएका छन्।
आइतबार बेलुका उनीहरुबीच एक युवतीको विषयलाई लिएर विवाद भएको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार मृतक कामत र घाइते दुई जनाले युवती जिस्काएको विषयलाई लिएर विवाद गरेको अर्काे दिन सोमबार राति सामुहिक झडप र हत्यासम्म भएको हो।