काठमाडौं । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको जनाइएको छ ।
घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ ।