काठमाडौं । रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय युवकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको यूपी ५६ एबी ०४७७ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भइ तिलोत्तमा नगरपालिका १५ कोटिहवाको सडकमा आइतबार साँझ पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भारतको महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भारततर्फ लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।