काठमाडौं । पहिरोले अवरुद्ध कान्ति लोकपथ पहिरो पन्छाएपछि पुनः सुचारु भएको छ । अविरल वर्षाले ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको कान्ति लोकपथ सञ्चालनमा आएको हो ।
ललितपुरको बागमती गाउँपालिका खण्डमा पर्ने कार्कीबाससहित तीन ठाउँमा पहिरो खसेपछि तीन दिनदेखि यो सडक अवरुद्ध थियो । पहिरो पन्छाएपछि सोमबार बिहानदेखि गाडी गुड्न थालेका छन् ।
कान्ती लोकपथ काठमाडौं उपत्यकाबाट मकवानपुरको हेटौँडा निस्कने सबैभन्दा छोटो सडक मार्ग हो । ललितपुरको सातदोबाटोबाट हेटौँडाको बुद्ध चोकसम्म यो सडक ८२ किलोमिटर लामो छ ।