काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ । आयोजनामा बेपत्ता भएको १२ घण्टापछि शनिबार बिहान ४ बजे बर्दियाको ठाकुरबारा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारुको शव भेटिएको हो ।
उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन् । उनीहरू दुवै जना शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसीम निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेकको ढलान भत्किदा ३ जना बेपत्ता भएका थिए ।
ढलान भत्किदा फसेका १० जना मजदुरमध्ये ७ जनाको उद्धार गरिएको थियो । इलेक्ट्रिक हाइड्रोपावरले ४० मेगावाटको भोटेकोसी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको इन्टेकको ढलान भत्किएको हो ।