काठमाडौं । प्रहरी नायव महानिरीक्षक(डिआइजी)पोषराज पोखरेल शुक्रबार राति १२ बजेबाट अवकाशमा गएका छन् । प्रहरी अतिरिक्तका महानिरीक्षक(एआइजी) बढुवाका लागि प्रस्ताव गरिएका पोखरेल बढुवाका लागि कुनै निर्णय नभएपछि डिआइजीमै अवकाश हुने भएका हुन् ।
यही १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो ।
समितिको सिफारिस अनुसार उनी दुई दिनका लागि एआइजी हुने थिए । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यसबारेमा निर्णय हुन नसक्दा उनको बढुवाबारे कुनै निर्णय हुन नसकेको हो । बढुवा भएको भए उनले यही असार १९ र २० गते दुई दिनका लागि एआइजी भई अवकाश लिने थिए ।