काठमाडौं । रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर युवकको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।
मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरू चार जना साथीहरूसँग घर फर्कने क्रममा उनी सहित अरू साथीहरूले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको हाे । दिउँसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुईवटा डुंगाबाट नेपाली सेना घटनास्थलमा पुगेको थियो ।
रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट बाहिर निकालेका थिए । घटनाको मुचुल्कापछि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।