काठमाडौं । चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । असार १ गते राति साढे ८ बजे चितवनको कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।
उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका हुन् । पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैँले चोरी गर्न लगाएको देखिएको सीआईबीले जनाएको छ ।
प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको छ ।
त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४ सय १५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो ।