बुटवल । रोल्पामा भएको जिप दुर्घटनामा परेर सात जनाको ज्यान गएको छ । थप ८ जना घाइते भएका छन् । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माडी गाउँपालिका– ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, सोही ठाउँ बस्ने ७७ वर्षीय खडकबहादुर डाँगी, दाबाङ निवासी ३० वर्षीया अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी रहेका छन् ।
त्यसैगरी परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी ३३ वर्षीया रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी अर्की एक महिलाको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीय स्तरमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल लगिएको छ । घाइतेहरुमा माडी गाउँपालिका २ घर्तीगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी ६० वर्षीया कर्मा बुढामगर, ४२ वर्षीया बरमाली घर्ती, ३७ वर्षीय खगेन्द्र बाठा, १३ वर्षीया प्रतिभा बुढामगर रहेका छन् ।
त्यसैगरी परिवर्तन गाउँपालिका–२ नाफेका ४५ वर्षीय चालक दीपक थापा, गंगादेव गाउँपालिका–७ का ५० वर्षीय नैनसिंह पुन र माडी गाउँपालिका–३ दाबाङका वर्ष ४० की दिलकुमारी बुढा मगर पनि घाईते भएको प्रहरीले जनाएको छ ।
रोल्पा जलजला यातायात प्रालिको सो जिप सडकबाट करिब चारसय मिटर तल खसेको बताइएको छ । पानी परेका कारणले उद्धार समस्या भएको बताइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।