काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन् ।
बोर्डको तथ्याङ्क अनुसार १ लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको गणित विषयमा एनजी आएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।
कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणितमा विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अंग्रेजी विषयमा १ लाख १३ हजार ३ सय ८३ र सामाजिक अध्ययनमा ७३ हजार ८ सय ७७ जनाले एनजी ल्याएका छन् ।
त्यस्तैगरी अर्थशास्त्रमा ६९ हजार ४ सय १६ जना, ऐच्छिक गणितमा २० हजार ३ सय ५२ जना र वातावरणमा ३ हजार ५ सय ११ जनाले एनजी ल्याएको तथ्याङ्क छ ।
दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ ।