काठमाडौं । सरकारले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तामा अर्थले दियो थप ४ अर्ब ५ करोड खर्च गर्न महालेखा नियन्त्रक कार्यालयमार्फत् सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिएको छ ।
सोमबार अर्थमन्त्रालयले गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिकलगायतमा थप बजेट निकासा माग भई आएअनुसार अख्तियारी प्रदान गर्नका लागि मन्त्रीस्तरीय निर्णय गरेको हो ।
सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरुबिचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
उल्लेखित भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्नेगरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको अर्थमन्त्रालयले जनाएकाे छ ।