ऊर्जा मन्त्री बस्नेतद्वारा हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको निरीक्षण भ्रमण

ऊर्जा मन्त्री बस्नेतद्वारा हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको निरीक्षण भ्रमण

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • ऊर्जा मन्त्री बस्नेतद्वारा हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको निरीक्षण भ्रमण

    काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतज्यूले हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको निरीक्षण भ्रमण गरेका छन् । ऊर्जा क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्न याेगदान दिएकाे भन्दै मन्त्री बस्नेतले उक्त कलेज भ्रमण गरेका हुन् । 

    कलेज व्यवस्थापन, प्रिन्सिपल ई.डा समित थापा, फ्याकल्टीहरु तथा कर्मचारीहरुले उनको स्वागत गरेका थिए । 

    भ्रमणका क्रममा कलेजका प्रिन्सिपल थापाले मन्त्री बस्नेतलाई कलेजमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धी स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने जानकारी गराए । समृद्व नेपाल निर्माणका लागि हिउँको श्रोत भएको पानीको उपयोग गर्न आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा कलेजले योगदान गरिरहेकोबारे पनि प्रिन्सिपल थापाले जानकारी गराएका थिए । 

    हिलसाइड कलेजले विद्यार्थीहरुलाई इण्टर्नसिप र जब प्लेसमेण्टमा समेत बिभिन्न निजी तथा सरकारी निकायहरुसँग सम्झौता गरेर काम गरिरहेको र दुई वटा इण्टरनेशनल कन्फेरेन्स सम्पन्न गरिसकेको प्रधानाध्यापक थापाले बताए । लोडसेडिङको समयमा "उर्जा संकट र समाधानका उपायहरु" बिषयक अन्तरक्रिया कार्यक्रम गरी सुझावहरु ऊर्जा मन्त्रालयमा पेस गरिएको र ती मध्ये अधिकांश सुझावहरु कार्यान्वयन भएपछि लोडसेडिङ अन्त्य हुनमा सहयोग समेत पुगेको उनले दाबी गरे ।

    प्रिन्सिपल थापाले अहिले हिलसाइड कलेजले छुट्टै रिसर्च सेण्टर स्थापना गरी अरुण काबेली हाइड्रो ग्रुपसँग सहकार्य गरिसकेको जानकारी गराउँदै, कम्पनीले नयाँ प्रोजेक्टहरुको अध्ययन, डिपिआर तयार गर्ने, नक्सा डिजाइन गर्ने र निर्माण भैसकेका परियोजनाहरुको नियमित मर्मतसम्भार गरी अरबौं रुपियाँ बिदेशिनबाट रोक्न प्रयास गरिरहेको पनि बताए ।

    मन्त्री बस्नेतले हिलसाइड कलेजको प्रयासको उच्च प्रशंसा गर्दै नेपालका विश्वविद्यालय तथा कलेजहरु १० वर्षमा १५ हजार मेगावाट क्षमताको हाइड्रोपावर विकास गर्ने लक्ष्यको निम्ति आवश्यक जनशक्ति उत्पादनमा तयार रहनुपर्ने बताए । उनले नेपालमा प्राविधिक जनशक्ति अपुग भैरहेको र धेरै विद्यार्थीहरु विदेश पलायन हुँदा दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरा रहेको बताए।

    रिसर्च कोअर्डिनेटर डा. रामहरी पौडेलले ऊर्जा क्षेत्र सम्बन्धी कार्यपत्र पेस गर्दै, मन्त्रीज्यूले अबको १२ वर्षमा २८५०० मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गर्ने सरकारको लक्ष्यमा जनशक्तिको खांचो टड्कारो रुपमा देखिने बताए । ऊर्जा क्षेत्रमा निजी क्षेत्र तथा बिदेशी लगानीलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्दै महत्त्वपूर्ण काम भइरहेको, तर यसको पर्याप्त जानकारी नहुनाले युवाहरुमा निराशा आएको हुनसक्ने उनको धारणा थियो।

    मन्त्री बस्नेतले हिलसाइड कलेजको व्यवस्थापनलाई धन्यवाद दिँदै "च्यालेन्जेज फेसिङ द नेप्लिज इनर्जी सेक्टर्स" बिषयक कार्यपत्रमा उठाइएका सुझावहरु अध्ययन गरी लागू गरिने प्रतिवद्धता व्यक्त गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij