काठमाडौं । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी रहेका छन् ।
कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्याएका थिए ।
उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।