काठमाडौं । आईएमई समूहको ६६ दशमलव ३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालीमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको कालीगण्डकी नदीमा आयोजना निर्माण गर्न लागिएको हो । सम्झौतामा हाइड्रो सपोर्ट प्रालीको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । नबिलसहित सहवित्तीयकरणका बैंकहरूमा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् ।
निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । आयोजना ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहनेछ । सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको समान २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको समान १ अर्ब रुपैयाँ रहनेछ ।
मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ बाट शुरु भई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।