पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका छ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

    न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य ५ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

    उनले भने, “पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौँ जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ ।”

    गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका  क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको प्रवक्ता अधिकारीले बताए । 

    उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो । 

    जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको विकास कोषका प्रवक्ता अधिकारीले बताए । उनले भने, “भेटी चोर्ने सबैलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij