बुटवलको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारी

बुटवलको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारी

बिहिवार, आषाढ ६ २०८१
बिहिवार, आषाढ ६ २०८१
  • बुटवलको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारी

    लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाले कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीति  बनाएको छ । 

    नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने ध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको जानकारी दिए । 

    उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

    ‘छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ । विद्यालय खाजा कार्यक्रममा १० थप गरी २५ बनाउने नीति लिएको छ । निजी विद्यालयले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण अनिवार्य सार्वजनिक गर्ने नीति ल्याएको छ । 

    स्वास्थ्यतर्फ बुटवलले दुई वटा अस्पताल सञ्चालन गर्ने, हरेक चार÷चार महिनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल–११ मा सय श्ययाको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने बताए । मुख्य राजमार्ग क्षेत्र र चोकमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्र तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

    बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि ‘स्पेसल टास्क फोर्स’ सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ । आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेष्टुराँ र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशालाभन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको बिक्री गर्न कोसेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । 

    बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौँ बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमन वृद्धि गर्ने नीति अगाडि सारिएको छ । “बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न कालिकापथ, ट्राफिक चोक, अमरपथ र अन्य आवश्यक स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिनेछ”, प्रमुख पाण्डेले भने, “रात्रिकालीन बजार सञ्चालन गर्दा स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकता दिँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न प्रोत्साहित गरिनेछ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij