काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा ६ लाख ८२ हजार नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक बर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३ सय ८६ जना नेपाली विदेशिएका हुन् ।
यो नयाँ र पुन : श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । सो स्थानको लागि जेठसम्म १ लाख ७४ हजार ९ सय १७ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै जेठसम्म मलेसियाका लाथि ८७ हजार जना श्रम स्वीकृति लिएका छन् । जेठमा मात्र यूएईमा २० हजार ४ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मेलेसियामा ८ हजार ७ सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् ।
कतारमा ११ हजार ९ सय ७३, साउदी अरबमा १३ हजार ३ सय ६६ र कुवेतमा ३ हजार ४ सय ३२ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । जेठ महिनामा क्रोएसियामा २ हजार ९ सय २२ जना, रोमानियामा १ हजार ९ सय ४६ जना, साइप्रसमा ८ सय ९९, माल्टामा २ सय ८१ र प्रोचुगलमा १ सय ३९ जना रोजगारीका लागि पुगेका छन् ।