सिंहदरबार भित्रका क्यान्टिनबाट महानगरले गर्यो ४ जना बालबालिकाको उद्धार

सिंहदरबार भित्रका क्यान्टिनबाट महानगरले गर्यो ४ जना बालबालिकाको उद्धार

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • सिंहदरबार भित्रका क्यान्टिनबाट महानगरले गर्यो ४ जना बालबालिकाको उद्धार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो।

    यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको हो । 

    महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुव्र्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ । 

    यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा संरक्षित गरिएको छ । महानगर प्रमुखको सचिवालय सदस्य धिरज जोशीका अनुसार उद्धारपछि उनीहरुले श्रममा भोग्नु परेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ । 

    बालबालिकाहरु महानगरपालिकाभित्र घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका÷संरक्षणको आवश्यकता भएका) को श्रममा आवद्ध भेटिन्छन् । 

    जोखिममा रहेका बालबालिकाहरुको अवस्थालाई रातो, पहेँलो र हरियो रङ्ग संकेतका आधारमा वर्गीकृत गर्ने गरिएको समितिका अर्का सदस्य प्रविण सिलवालको भनाइ छ । १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो रङ्ग संकेत भएको वर्गमा राखिन्छ । 

    दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो रङ्ग संकेत भएको वर्गमा राखिन्छ । 

    यस्तै, मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो रङ्ग संकेत भएको वर्गमा राखिएको छ । यीमध्ये रातो रङ्ग संकेत वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको छ । 

    बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाउन खटिने गरेका छन् । यसरी खटिने इन्टर्नहरुको संख्या ३१ जना रहेको छ । 

    उद्धारपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा, परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij