काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् ।
सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए ।
प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत परेको छ । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन्।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।
सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन्। नाराबाजी गरिरहेको नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएन।
प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए। नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अबरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।