काठमाडौं । दरवारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न नावालकसहित ७ जना आरोपी सार्वजनिक गरिएकोे छ । जिल्ला प्रहरी परिसर, टेकुले घिमिरेको हत्यामा संलग्न ७ जना आरोपीलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् र घिमिरेको शव फेला परेको स्थान लागुऔषध प्रयोगकर्ताहरुले अखडा बनाएका थिए ।
शुक्रबार प्रहरी जवान घिमिरेको शव काठमाडौंको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।