काठमाडौं । ललितपुरको आगलागीमा परेका पाँच मध्ये चार जनाको मृत्यु भएको छ । शनिवार थप एकको मृत्युु भएसंगै ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको हो ।
दुई छोरी र आमापछि बुवा सञ्जय गिरीको मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए ।
शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जयको ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाकाको मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ । उनको अवस्था सामान्य छ । उनलाई नर्मल वार्डमा सारिएको ललितपुर प्रहरीले जनाएको छ ।