काठमाडौं । सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ८ गतेका लागि बोलाएको छ।
जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो । उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चले दल विभाजन सम्बन्धी कतिपय काम कारबाही भइरहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ।
आयोगले छुट्टै दलको मान्यता दिएसँगै प्रदेशहरूमा सांसदहरूलाई दल रोज्न २१ दिनको समय दिएको थियो। सर्वोच्चले उक्त कामबारे निष्कर्षमा पुग्न आयोगसँग छलफल गर्नुपर्ने भनेको छ।