काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन् । आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
कम्पनीमा रहेका २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी हुँदा त्यहाँ कार्यरत कामदारहरू घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँच जना बाँकेका र तीन जना भारतको बहराइच जिल्लाका रहेका छन् । उनीहरूलाई प्रारम्भिक उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र बाँकी छ जनाको अवस्था सामान्य रहेको छ ।
बाँकेका घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । अन्य घाइतेको उपचार भेरी अस्पतालमा भइरहेको छ ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एउटा दमकल परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।