काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असोज मसान्तसम्म कुल १९ अर्ब १२ करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको कुल खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । यस वर्ष बैंकहरूको नाफा ५ अर्ब ९७ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको छ ।
समीक्षा अवधिमा अधिकांश बैंकको नाफा बढेको छ । २० मध्ये १६ बैंकको खुद नाफा बढेको छ भने तीन बैंकको घटेको छ । गत वर्ष घाटामा रहेको सिटिजन्स बैंक इन्टरनेसनल भने यस वर्ष नाफामा फर्किएको छ । यस अवधिमा १० वटा बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् ।
नाफामा नबिल बैंक पहिलो, ग्लोबल आइएमई दोस्रो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी खुद नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । यससँगै बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको छ ।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष बैंकको नाफा २४.४९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ थियो । यससँगै बैंकको नाफा १७५.५२ प्रतिशतले बढेको छ ।
यसैगरी, एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख ५० हजार रुपैयाँ, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यसरी पहिलो त्रैमासमा २० मध्ये १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५२२ प्रतिशतले बढ्यो
नाफा वृद्धिदरका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा २५२२.४७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
त्यस्तै, कृषि विकास बैंकको नाफा १८०३.७१ प्रतिशतले बढेर १० करोड ९२ लाख ३५ हजार रुपैयाँबाट १ अर्ब ९ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले बढेको छ भने सिद्धार्थ बैंकको १६२.७५ प्रतिशत र सानिमा बैंकको १३१.१३ प्रतिशतले वृद्धि भएको छ ।
लक्ष्मी सनराइज बैंकको नाफा ९१.१९ प्रतिशतले बढेर ६३ करोड ५३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । नबिल बैंकको नाफा ४५.४३ प्रतिशत, नेपाल बैंकको ४१.४६ प्रतिशत र माछापुच्छ्रे बैंकको ३१.८७ प्रतिशतले बढेको छ ।
एनएमबि बैंकको नाफा २७.११ प्रतिशत, ग्लोबल आइएमई बैंकको २४.४९ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.१० प्रतिशत, प्रभु बैंकको ८.१० प्रतिशत र एभरेष्ट बैंकको ६.२३ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको नाफा ४.३२ प्रतिशत र कुमारी बैंकको १.७० प्रतिशतले बढेको छ ।
तीन बैंकको नाफा घट्यो
अधिकांश बैंकको नाफामा सुधार देखिए पनि तीन बैंकको खुद नाफा भने घटेको छ । समीक्षा अवधिमा हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको हो ।
हिमालयन बैंकको खुद नाफा ६.८४ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड २८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको सिटिजन्स बैंक इन्टरनेसनल यस वर्ष भने नाफामा फर्किएको छ ।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष घाटामा रहेको बैंकले यस वर्ष नाफा कमाउन सफल भएको हो ।
