पहिरो र लेदो पन्छाएपछि केही सडक सञ्चालनमा, तीन राजमार्गका विभिन्न खण्ड अझै अवरुद्ध

पहिरो र लेदो पन्छाएपछि केही सडक सञ्चालनमा, तीन राजमार्गका विभिन्न खण्ड अझै अवरुद्ध

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • पहिरो र लेदो पन्छाएपछि केही सडक सञ्चालनमा, तीन राजमार्गका विभिन्न खण्ड अझै अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएका देशका विभिन्न सडक खण्डमा पहिरो, हिलो र लेदो पन्छाएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ । केही सडक खण्डमा भने अवरोध कायमै रहेकाले खुलाउने प्रयास भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

    मन्त्री लम्सालका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ खण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ । सोही करिडोरको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ को राक्से खण्डमा पहिरो पन्छाएपछि दिउँसोदेखि सवारी आवागमन पुनः सुरु भएको छ ।

    यसैगरी, नाग्म–गमगढी सडकको ताल्चा खण्डमा जम्मा भएको हिलो तथा लेदो हटाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको चालिसेभीर खण्डमा पहिरो पन्छाएपछि अहिले दुईतर्फी नै यातायात सञ्चालन भइरहेको छ ।

    यता, वर्षाका कारण केही राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा भने अवरोध कायमै छ । बीपी राजमार्गको पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा हुँदा सडक अवरुद्ध भएको छ । अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउन काम भइरहेको छ ।

    कान्ति राजमार्गको मकवानपुर खण्डमा यातायात सञ्चालनमा रहे पनि ललितपुरको छपेलीलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । त्यस्तै, मालढुङ्गा–बेनी–जोमसोम सडकअन्तर्गत लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा पनि यातायात अवरुद्ध भएको छ ।

    अवरुद्ध सडक खुलाउन सडक विभाग तथा मातहतका डिभिजन कार्यालयहरूले आवश्यक जनशक्ति र भारी उपकरण परिचालन गरेका छन् । वर्षा जारी रहेकाले मालढुङ्गा–बेनी–जोमसोम सडकमा मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ ।

    वर्षाका कारण थप सडक अवरुद्ध हुन नदिन तथा अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij