अविरल वर्षाले देशभरका एक दर्जनभन्दा बढी सडक अवरुद्ध, मुस्ताङमा भारी हिमपात

अविरल वर्षाले देशभरका एक दर्जनभन्दा बढी सडक अवरुद्ध, मुस्ताङमा भारी हिमपात

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • अविरल वर्षाले देशभरका एक दर्जनभन्दा बढी सडक अवरुद्ध, मुस्ताङमा भारी हिमपात

    काठमाडौं । अविरल वर्षा र पहिरोका कारण पृथ्वीराजमार्ग, बीपी राजमार्गसहित देशभरका एक दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने सडकमार्गमा समेत यातायात प्रभावित भएको छ भने उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा कोरला नाका र जोमसोम–कोरला सडकखण्ड ठप्प भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो सडकमा थुप्रिएपछि बीपी राजमार्ग पनि अवरुद्ध भएको छ ।

    सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि यातायात रोकिएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथका विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएका छन् ।

    त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से र पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

    हेटौंडा–काठमाडौं आवागमन प्रभावित

    लगातारको वर्षाका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा पनि यातायात प्रभावित भएको छ ।

    ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत पाङदुर र टाकुर्चे क्षेत्रमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    शनिबार बिहान करिब १०ः३० बजे पहिरो खसेपछि उक्त सडकमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    हेटौंडा–काठमाडौं आवागमनका लागि वैकल्पिक मार्गका रूपमा फाखेल सडक र त्रिभुवन राजपथ सञ्चालनमा रहेका छन् । प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर सुरक्षित मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ ।

    मुस्ताङमा भारी हिमपात, कोरला नाका बन्द

    अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

    नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको न्हेचुङस्थित बोर्डर आउट पोस्टले जनाएको छ । हिमपातका कारण जोखिम बढेपछि कोरला नाकातर्फ सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ ।

    भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ । मौसम सामान्य नभएसम्म सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    हिमपातका कारण उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन तथा उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

    यसैबीच, जोमसोमदेखि माथिल्लो क्षेत्रमा जाने सडक तथा छुसाङमा पहिरो खसेपछि जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    वर्षा र हिमपात जारी रहेकाले पहिरो तथा सडकमा लेदो थुप्रिने जोखिम कायम छ । सम्बन्धित निकायले यात्रुलाई अनावश्यक यात्रा नगर्न, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij