काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँदुर र टार्कुचेमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ स्थित बल्खु सुन्दरीघाटमा बागमती करिडोर पनि अविरल वर्षाका कारण बन्द भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरमा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जाने सडक राति ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। कुलेखानी जलाशयको जलसतह बढेर सडक पार गर्न सक्ने जोखिमका कारण भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा पनि रातिको समयमा आवागमन रोकिएको छ।
कोशी प्रदेशको खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशको गोरखास्थित आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण बन्द भएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा पहिरो तथा अविरल वर्षाका कारण जोमसोम–कोरला सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
अन्य राजमार्गमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। पाल्पाको रामपुर नगरपालिका–१ मा पहिरो जाँदा कालीगण्डकी करिडोर तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।
वर्षा जारी रहेकाले सडकमा थप पहिरो खस्ने तथा बाढी आउने जोखिम रहेको छ। सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त सडक खण्डमा सावधानी अपनाउन आग्रह गरेका छन्।

