काठमाडौं । नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताका खेल सञ्चालन हुनेछन् ।
आगामी माघ ७ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १६ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ रहेका छन् ।
त्यस्तै, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (यूएई) छन् भने समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड रहेका छन् ।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल माघ ८ गते आयरल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले भारत र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।