दसैँमा रित्तो निधार, मनभरि बेपत्ता आफन्तको पीडा

दसैँमा रित्तो निधार, मनभरि बेपत्ता आफन्तको पीडा

बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • दसैँमा रित्तो निधार, मनभरि बेपत्ता आफन्तको पीडा

    बर्दिया, ४ कात्तिक । दसैँमा घर फर्किएका आफन्तसँग टीका र जमरा लगाउने, आशीर्वाद साट्ने र खुसी बाँड्ने रहर सबैको हुन्छ। तर, बर्दियाका केही परिवारका लागि यस वर्ष दसैँ आयो, खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूका घरमा दसैँको रौनकभन्दा पीडा र प्रतीक्षा बढी छाएको छ।

    गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस वर्षको दसैँ अघिल्ला वर्षजस्तो रहेन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ। दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली रह्यो।

    “दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं। यस वर्ष पनि छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो। तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो खुसी नै खोसियो,” उनले भनिन्।

    डेढ महिनादेखि छोराको खबर पर्खिरहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी फर्किएको छैन। घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पुनर्मिलनको आशा मात्रै छ।

    राजापुर नगरपालिका–९ तिनघरवाकी सिर्जना थारुको पीडा पनि उस्तै छ। बाढीमा श्रीमान् प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको छ। हरेक वर्ष श्रीमान्सँग टीका लगाएर आशीर्वाद साट्ने सिर्जनाले यस वर्ष उनको अनुपस्थितिमा दसैँ बिताउनुपरेको छ।

    “दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो। बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन। श्रीमान् कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन। यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु?” उनले भनिन्।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गेरुवा–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु बेपत्ता भएका थिए। त्यस्तै, राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु पनि बेपत्ता भएका थिए।

    बेपत्ता आफन्तको अवस्था अझै अज्ञात रहेकाले परिवारले अन्तिम संस्कार र काजक्रियासमेत गर्न सकेका छैनन्। आफन्त फर्किने आशा जीवितै राखेर उनीहरू दिन गन्दै बसेका छन्।

    गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारले यस वर्ष दसैँको खुसी अनुभव गर्न पाएनन्।

    “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन्। दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्। यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र?” उनले भने।

    भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन्। उनीहरूको अवस्था अज्ञात रहँदा परिवारका सदस्यका लागि दसैँ केवल चाडपर्वमा सीमित रहेन, आफन्तसँग पुनर्मिलन हुने आशा र विछोडको पीडासँग जोडिएको छ।

    अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला यी परिवार भने बेपत्ता आफन्त फर्किने आशामा छन्। घरमा टीका र जमरा छन्, चाडपर्व पनि आएको छ, तर खुसी बाँड्ने आफन्त छैनन्। उनीहरूका लागि यस वर्षको दसैँ उत्सवभन्दा बढी सम्झना, पीडा र अधुरो प्रतीक्षाको पर्व बनेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij