कालो टीका र जमरा लगाएर मनाइयो भक्तपुरमा मोहनी नखः

कालो टीका र जमरा लगाएर मनाइयो भक्तपुरमा मोहनी नखः

बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • कालो टीका र जमरा लगाएर मनाइयो भक्तपुरमा मोहनी नखः

    भक्तपुर, ४ कात्तिक । भक्तपुरका नेवार समुदायले विजयादशमीका अवसरमा मोहनी नखः उल्लासका साथ मनाएका छन्। मान्यजनको हातबाट मोहनी सिन्हः अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गर्दै उनीहरूले पर्व मनाएका हुन्।

    नेवार समुदायमा मोहनी नखःको मुख्य विशेषता कालो टीका हो। महानवमीका दिन घरघरमा दियो बालेर अर्को पालाले छोप्दा जम्मा हुने कालो ध्वाँसोलाई मोहनी सिन्हःका रूपमा प्रयोग गरिन्छ।

    संस्कृतिकर्मी प्रकाश कायस्थका अनुसार कालो टीकालाई तान्त्रिक शक्ति र विजयको प्रतीकका रूपमा लिने परम्परा छ। यस दिन रातो अक्षता, जमरा र निधारको बीचमा कालो टीका लगाउने चलन छ।

    टीकाको शुभसाइतमा घरघरमा मोहनी सिन्हः लगाएपछि भक्तपुरवासी पूजा सामग्रीसहित ब्रह्मायणी मन्दिर पुगेर देवीको दर्शन गर्ने परम्परा छ। यस अवसरमा ब्रह्मायणी मन्दिरमा दिनभरि हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ। भक्तजन बाजागाजासहित मन्दिर पुगेर ब्रह्मायणी देवीको पूजा तथा दर्शनमा सहभागी भएका छन्।

    मोहनी नखःको समापन भने मध्यरातमा तलेजुमा हुने खड्ग जात्रापछि मात्रै हुन्छ। राति ब्रह्मायणीबाट नवदुर्गा देवगण तलेजु पुगेर नवदुर्गाकी दिदीका रूपमा मानिने तलेजु भवानीलाई ढोग्ने र मन्त्र सिद्ध गर्ने परम्परा छ। त्यसपछि नवदुर्गा र खड्ग जात्रासहित तलेजुलाई बोकेर जात्रा गरिन्छ। तलेजुको वाहन सेतो घोडालाई अगाडि लगाउँदै नगर परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने कायस्थले जानकारी दिए।

    मोहनी नखः कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक तथ्य छैन। दसैँका अवसरमा खड्ग जात्रा अर्थात् पायाः निकाल्ने परम्परा तन्त्रयानको प्रादुर्भावसँगै सुरु भएको मान्यता छ। राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट तलेजु भवानीलाई नेपाल ल्याएपछि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि प्रचलित छ।

    यस पर्वमा निम्तो आएका ठाउँमा छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खाने चलनसमेत छ। नेवार समुदायका बौद्ध धर्मावलम्बीले पनि आ–आफ्नो परम्पराअनुसार मोहनी नखः मनाउने गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij