बालेनद्वारा काठमाडौंको मेयर पदबाट राजीनामा

बालेनद्वारा काठमाडौंको मेयर पदबाट राजीनामा

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • बालेनद्वारा काठमाडौंको मेयर पदबाट राजीनामा
    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपप्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

    स्थानीय तहसम्बन्धी कानुनी प्रावधानअनुसार प्रमुखले उपप्रमुखलाई राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ । बालेनले आफ्नो राजीनामा आजकै मितिदेखि लागू हुने गरी स्वेच्छाले दिएको उल्लेख गरेका छन् ।

    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण उनले मेयर पदबाट राजीनामा दिएको जनाइएको छ ।

    राजीनामा पत्रमा उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकासम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी नगर प्रमुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

    मेयरका रूपमा आफ्नो कार्यकालमा नगर र नगरवासीको हितलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा महानगरपालिकाको नेतृत्व सम्हाल्ने उपमेयर सुनिता डंगोललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    महानगरपालिकाको सेवा प्रवाह, विकास प्रक्रिया र नेतृत्व अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै नगर कार्यपालिका समक्ष शुभेच्छा व्यक्त गरिएको पनि राजीनामा पत्रमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij