काठमाडौँ, ५ कात्तिक। आगामी मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुनुपर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा सात दिनसम्म लगातार वर्षा हुने भन्दै फैलाइएको सूचनाप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गरे।
उनका अनुसार आगामी मङ्गलबारदेखि केही स्थानमा वर्षा हुन सक्ने सम्भावना छ। तर, कुन स्थानमा कति वर्षा हुन्छ र वर्षा कहिलेसम्म जारी रहन्छ भन्ने अहिले नै यकिन गर्न सकिने अवस्था छैन।
सामाजिक सञ्जालमा फैलिएको वर्षासम्बन्धी हल्लाले विशेषगरी किसान त्रसित देखिएको भन्दै उनले मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले अनावश्यक चिन्ता लिन नपर्ने बताए।
नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमान पूर्ण रूपमा मिल्ने निश्चित नहुने महर्जनको भनाइ छ।
आगामी साता हुन सक्ने वर्षाबारे थप स्पष्ट जानकारी केही दिनपछि सार्वजनिक गरिने उनले बताए। मौसम र वर्षासम्बन्धी जानकारीका लागि सामाजिक सञ्जालमा फैलिने अपुष्ट खबरभन्दा मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचनालाई आधार बनाउन उनले आग्रह गरे।
- राष्ट्रिय समाचार समिति (रासस) को समाचारमा आधारित