काठमाडौँ, ६ कात्तिक । आइसिसी महिला टी–२० विश्वकपको तयारीलाई थप मजबुत बनाउने लक्ष्यसहित नेपाली यु-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली टोलीले चीन र भारतमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु- १९ गल्र्स टी-२०आई’ प्रतियोगिता खेल्नेछ। प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङका टोली सहभागी हुनेछन्।
त्यसैगरी, नेपाली टोलीले नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा हुने त्रिदेशीय शृङ्खलामा पनि प्रतिस्पर्धा गर्नेछ। उक्त शृङ्खलामा नेपालसँगै भारतका यु-१९ महिला ‘ए’ र ‘बी’ टोली सहभागी हुने क्यानले जनाएको छ।
विश्वकपको तयारीका क्रममा हुने यी प्रतियोगिताले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र आफ्नो खेलस्तर सुधार्ने अवसर प्रदान गर्नेछ। लगातार दुई प्रतियोगितामा सहभागिता जनाउँदा टोलीले विश्वकपअघि आफ्नो तयारी र प्रदर्शनको मूल्याङ्कन गर्ने अवसरसमेत पाउनेछ।