काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्नेछ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।