काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहयोगका लागि अनुरोध गरेको थियो । त्यसपछि विकसित तथा विकासशील राष्ट्रका प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरूबीच विभिन्न चरणमा छलफल र समन्वय भएको थियो ।
मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार कोषको निर्णयअनुसार नेपालले बाढी प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार गरेर पेस गर्नुपर्नेछ । उक्त प्रस्ताव स्वीकृत भएपछि कोषको कार्यविधिअनुसार राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार विपद्मा करिब एक हजार ५०० जनाले ज्यान गुमाएका छन् भने पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।
मन्त्रालयका अनुसार बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको अनुमान छ । प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने आकलन गरिएको छ ।
जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेका विकासशील राष्ट्रलाई विपद्बाट भएको क्षति सम्बोधन गर्न कोषले गरेको निर्णयलाई महत्त्वपूर्ण मानिएको छ । यसबाट बाढी प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुग्नुका साथै जलवायु न्यायको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।