काठमाडौँ, ६ कात्तिकः काठमाडौँ उपत्यकामा मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सार्वजनिक सवारीका चालकसमेत रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालक कारबाहीमा परेका हुन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक हुन्। त्यस्तै, लापसे गरी सवारी चलाउने सबै ३५ जना चालक पनि सार्वजनिक सवारीका रहेको उनले जानकारी दिए।
मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअनुसार कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए।
चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र मापसे तथा लापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।