काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र रहेका सबै नेता तथा कार्यकर्तालाई मतभेदभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेका छन् । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि जारी गरेको विज्ञप्तिमा उनले पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक अभ्यास स्थापित भएको उल्लेख गरेका छन् ।
विशेष महाधिवेशनमा सहभागी भएका वा नगरेका, सहमत भएका वा असहमत रहेका सबैलाई संयमित, जिम्मेवार र एकतावद्ध बन्न आग्रह गर्दै सभापति थापाले अब आत्मविश्वासका साथ आगामी निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहका नेताहरूले लोकतान्त्रिक निर्णयलाई सहज रूपमा स्वीकार गर्दै सहयोग गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
पार्टीको संस्थापन पक्षको असहमतिकै बीच बहुमत प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको हो ।
निर्वाचन आयोगले कांग्रेसको विधानलाई आधार मानेर निर्णय गरेको स्पष्ट गर्दै संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नियमावली २०७४ तथा पार्टी विधानअनुसार प्रक्रिया पूरा भएको निष्कर्ष निकालेको जनाएको छ । विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिको लिखित माग परेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।
यसैअनुसार ५४ प्रतिशत प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएका थिए । केन्द्रीय कार्यसमितिले त्यसलाई सम्बोधन नगरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान, कानुन, नियमावली, पार्टी विधान तथा आयोगसँग भएका पत्राचारको अध्ययनपछि विशेष महाधिवेशन वैध रहेको निष्कर्ष निकालिएको जानकारी दिएका छन् ।
यद्यपि निर्वाचन आयोगको निर्णयपछि संस्थापन पक्ष असन्तुष्ट देखिएको छ । देउवा पक्षले राजनीतिक र कानुनी संघर्ष अघि बढाउने संकेत दिँदै आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको जनाएको छ ।