काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि आज बिहान मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले बिहान साढे नौ वजे विद्युतीय मतदान गरेपछि अन्य प्रतिनिधिलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।
हिजै बिहान १० बजे मतदान शुरु हुने भनिएपनि विद्युतीय मतदान प्रणालीमा उमेद्वारको विवरण राख्न समय लागेपछि पटक–पटक सार्दै आज विहान आठ वजेलाई सारिएको थियो। एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय लागि ६ सय ६० जनाले उम्मेदवारी परेको छ ।
महाधिवेशनमा दुई हजार २ सय ६३ मतदाताले सहभागीता जनाउँने छन् । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् । केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ ।
महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् । ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारीदर्ता भएको छ। मतदान साँझ सात वजे सम्ममा सकेर आजै राती मतपरिणाम घोषणा गर्ने एमालेले जनाएको छ ।