पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते

पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते

आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    एजेन्सी । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा–कराँची राजमार्गमा शुक्रवार यात्रुवाहक बस र मिनिबस एकआपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । 

    दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रवार दिउँसो भएको भीषण सवारी दुर्घटनामा परी कम्तीमा १२ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था अत्यन्त नाजुक रहेको स्थानीय प्रहरी तथा उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । 

    प्रहरीका अनुसार दक्षिण–पश्चिमी जिल्ला ग्वादरबाट दक्षिणी बन्दरगाह सहर कराराँचीतर्फ गइरहेको तिब्र गतिको यात्रुवाहक कोच क्वेटा–कराँची राजमार्गमा विपरीत दिशाबाट आइरहेको मिनिबससँग सीधा जुध्न पुगेको थियो । ठक्कर यति शक्तिशाली थियो कि दुवै सवारीसाधन नराम्ररी क्षतिग्रस्त भएका छन् । दुर्घटना लगत्तै खटिएको उद्धार टोलीका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य पाँच जनाले अस्पतालमा उपचारका क्रममा अन्तिम सास फेरेका थिए । 

    स्थानीय एधी उद्धार सेवाका प्रमुख अब्दुल हकिम लासीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार उद्धारकर्मीहरूले घटनास्थलबाट करिव २२ जना घाइतेहरूलाई नजिकैको स्थानीय अस्पताल पुर्‍याएका छन् । अस्पतालमा उपचाररत घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशंका व्यक्त गरेका छन् । प्रहरी प्रशासनले घटनाको कारणबारे विस्तृत प्राविधिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार तिब्र गति वा सडकको प्रतिकूल अवस्था दुर्घटनाको कारक हुन सक्ने बताइए तापनि औपचारिक प्रतिवेदन आउन बाँकी छ ।  

     

     
     
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij