काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् ।
त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।