काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज चार प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, भोलि पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।