बडादसैँ अवधिमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

बडादसैँ अवधिमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • बडादसैँ अवधिमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

    काठमाडौं । बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

    कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिए ।

    चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए ।

    नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिन्छ ।

    ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूलाई आग्रह गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij