काठमाडौं । सामाजिक सुरक्षा योजना कोषमा हालसम्म करिब २५ लाख ७६ हजार ४७६ श्रमिक सूचीकृत भएका छन् । कोषका अनुसार श्रमिक तथा रोजगारदाताको सूचिकरण र योगदान संकलन दुवैमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आवद्ध भइसकेका छन् ।
कोषका तथ्यांक अनुसार, औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक सहभागी छन् भने अनौपचारिक क्षेत्रबाट केवल ७९४ जनामात्रै आवद्ध भएका छन् । यस्तै, वैदेशिक रोजगारीमा जाने करिब १९ लाख ३४ हजारभन्दा बढी कामदारले पनि सामाजिक सुरक्षा कोषमा योगदान दिएका छन् । वैदेशिक रोजगारमा जानुअघि सामाजिक सुरक्षामा अनिवार्य आवद्ध हुनुपर्ने कानुनी प्रावधानका कारण उनीहरू सूचीकृत भएका भए पनि अधिकांशले नियमित रूपमा रकम जम्मा गर्ने गरेका छैनन् ।
अहिलेसम्म कोषले योगदानकर्ताबाट जम्मा ९३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । यो रकम मुख्यतः बैंकमा राखिएको छ र कोषले त्यसबाट ब्याज आम्दानी गरिरहेको छ । तर सामाजिक सुरक्षा ऐन र कार्यविधिअनुसार उक्त रकम उत्पादनशील तथा प्रतिफल दिने क्षेत्रमा लगानी हुनुपर्ने भए पनि त्यसतर्फ प्रगति हुन सकेको छैन ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कोषले एक सय सात स्वास्थ्य संस्थासँग सहकार्य गरी स्वचालित सेवा प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।