बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा गाडी सञ्चालनमा कठिनाइ, बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै

बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा गाडी सञ्चालनमा कठिनाइ, बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै

मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा गाडी सञ्चालनमा कठिनाइ, बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै

    काठमाडौं । बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ । प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौं जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाडौं र हुमाने–फाखेल–काठमाडौं सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् ।

    मकवानपुरबाट काठमाडौंतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै र काठमाडौंबाट मकवानपुरतर्फ जाने गाडीहरुलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ । पहिरो पूर्णरूपमा नहटेसम्म वैकल्पिक व्यवस्थाबाटै गाडी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ । बाढीपहिरोकै कारण कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भन्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत बन्द छ । कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण गाडी चल्न सकेका छैनन् । यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ को घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण गाडी चल्न सकेका छैनन् ।

    सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानाको भङ्डारे खोलामा लेदोसहितको बाढी आएकाले आवतजावत पूर्ण रुपमा अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ ।

    यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा गाडी चल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ ।

    ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन ठाउँमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् । पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक विभिन्न ठाउँमा अवरुद्ध छ । यसैबीच काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि हिजोदेखि डाइभर्सन बनाउन शुरु गरिएको हो ।

    डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन बनाउन थालेको हो । सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न ठाउँमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको छ । अहिले वैकल्पिक मार्गका रुपमा गाडी खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाण्डौ आवतजावत भइरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij